स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवद्वारा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन

Date: 2024-06-09
news-banner

काठमाडौं, असार २७ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै त्यहाँका गतिविधि र समस्याबारे जानकारी लिनुभएको छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बजेट अभाव र जनशक्ति दरबन्दी यकिन नहँदा छातीरोग अस्पताल सञ्चालनमा समस्या आइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “छातीरोग अस्पताल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति र बजेटको अभाव छ।” जवाफमा मन्त्री यादवले आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउँदै बाँकी रहेका काम सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “बजेट व्यवस्थापन मेरो जिम्मामा छ।”

मन्त्री यादवले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमनका क्रममा त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग छलफल गर्नुभयो। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रको भवन साँघुरो भएकाले सेवा प्रवाहमा आइरहेका समस्याहरूको जानकारी गराउनुभयो।

मन्त्री यादवले केन्द्रले सामना गरिरहेका समस्या समाधानका लागि मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउँदै दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकता पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो। उहाँले भन्नुभयो, “हामीले तपाईँहरूको समस्याको समाधान गर्न सक्दो सहयोग गर्नेछौं।”

यस अनुगमनले स्वास्थ्य सेवा प्रवाहमा सुधारको अपेक्षा गरिएको छ।

Leave Your Comments