काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न निर्देशन दिएका छन्। अहिले आकस्मिक कक्ष पुरानो भवनमा रहेको छ ।
वीर अस्पतालको निरीक्षणका क्रममा आकस्मिक कक्ष निकै साँघुरो भएको र बिरामीले सहज रुपमा सेवा पाउन नसकेको देखेपछि मन्त्री यादवले सबै प्रक्रिया पूरा गरेर तीस दिन भित्र नयाँ भवनमा आकस्मिक कक्ष सार्न निर्देशन दिएका हुन्। वीर अस्पतालको पुरानो भवनमा हाल ४२ शय्या क्षमताको आकस्मिक कक्ष सञ्चालनमा रहेको छ। नयाँ भवनमा आकस्मिक कक्ष सरेपछि शय्या संख्या समेत थप हुने बताइएको छ ।