काठमाडौं:त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा काखीमुनि सानो प्वाल पालेर मुटुको ‘माइट्रयल भल्भ’ फेरिएको छ । र ‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी’ (काखीमा सानो प्वाल पारेर गरिने मुटुको शल्यक्रिया) विधिबाट ‘एओर्टिक भल्भ’ केही वर्षदेखि फेरिँदै आए पनि सेन्टरमा ‘माइट्रयल भल्भ’ फेर्न पहिलो पटक ‘राइट एक्जिलरी मिनिथोराक्टोमी’ विधि प्रयोग गरिएको हो ।
सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी (सीटीभीएस) विभागका प्रमुख डा. अनिल भट्टराई नेतृत्वको टोलीले मंगलबार ५३ वर्षीया एक महिलाको मुटुको भल्भ फेरेको हो । काखीमुनिबाट मुटुको भल्भ परिवर्तन गर्ने शल्यक्रियाका लागि साढे दुई घण्टाको समय लागेको थियो । डा. भट्टराईका भनाइमा छाती पूरै खोलेर मुटुको शल्यक्रिया गर्नुभन्दा सानो प्वाल पारेर शल्यक्रिया गर्न कठिन हुन्छ ।
तर, छाती पुरै खोलेर गर्दा अगाडि घाउ पनि ठूलो हुने र पूर्णरूपमा निको हुन पनि समय लाग्ने हुन्छ । उनका अनुसार मुटुको भल्भ परिवर्तनका साथै विभिन्न प्रकारका अन्य समस्यालाई शल्यक्रिया गरेर समाधान गर्नुपरेमा ‘एन्टेरियर मिनिथोराक्टोमी’ (छातीको अगाडि भागमा नै प्वाल पारेर) ‘ओपन हार्ट सर्जरी’ गर्ने विधि धेरै पुरानो हो । यसका साथै काखीमुनि प्वाल पारेर भल्भ परिवर्तन गर्नु वा मुटुको अन्य शल्यक्रिया गर्नु विश्वका लागि नौलो नभए पनि मनमोहनमा भने यसअघि यस विधिबाट गरिएको शल्यक्रिया सफल भएको थिएन ।
नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी २०५३ फागुन ९ मा त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । शिक्षण अस्पतालको हाताभित्र नै हृदयरोगको अध्ययन अध्यापन तथा उपचारका लागि २०६६ वैशाखमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्थापना गरिएको थियो । डा. भट्टराईका अनुसार हाल सेन्टरमा वार्षिक रूपमा करिब ६०० जनाको विभिन्न प्रकारका मुटुका शल्यक्रिया गर्ने गरिएको छ । डा. भट्टराईका अनुसार यसअघि करिब २०० भन्दा बढी एमआईसीएस शल्यक्रिया मनमोहनमा भइसकेको छ ।